
बुइपा । भोजपुर र झापा जिल्ला यहाँ जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । आइतबार भएको दुई सेमिफाइनलतर्फ आ–आफ्नो खेलमा जित निकाल्दै भोजपुर र झापाले उपाधि भिडन्त पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनलतर्फ भोजपुरले ओखलढुंगालाई २–० ले हरायो । भोजपुरको जितमा आशिका कार्की र सबिना तामाङले गोल गरिन् । खेलमा भोजपुर कै आरती भुजेल प्लेयर अफ द म्याच घोषित भईन् । उनले पुरस्कार वापत नगद २ हजार र मेडल हात पारिन् ।
त्यस्तै दोस्रो सेमिफाइनलमा झापाले ताप्लेजुङमाथि शून्यका विरुद्ध ६ गोलको फराकिलो जित निकाल्यो । झापाका लागि सबै गोल दोहोरो ह्याट्रिकका साथ जेनिफर मगरले गरीन् । खेलमा मगर नै प्लेयर अफ द म्याच चुनिईन् । उनले पनि नगद २ हजार र मेडल हात पारिन् ।
अब यही असार २५ गतेका दिन हुने फाइनलमा भोजपुर र झापा उपाधिका लागि भिड्ने छन् । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश, बिराटनगरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति, खोटाङको संयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।