News सहारालाई आत्मविश्वासी राईजिङको चुनौति
सुरज राना मगर

सुनवल । प्रथम नवलपरासी गोल्डकपको दोस्रो सेमिफाइनलमा आज आयोजक राईजिङ स्टार फुटबल क्लब, भूमही र सहारा क्लब, पोखरा भिड्दै छन् । दुवै टोली फाइनल प्रवेश गर्ने दोस्रो टोलीका रुपमा आफ्नो चुनौति पेश गर्न तयार छन् ।

क्वाटरफाइनलमा आयोजक राईजिङले पाल्पा–११ लाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो भने पाहुना टोली सहाराले सुदुरपश्चिम–११ को चुनौति पन्छाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो ।

आयोजक राईजिङलाई घरेलु समर्थकको पनि साथ रहनेछ । राष्ट्रियस्तरका खेलाडीहरु लिएर उत्रिने तयारीमा रहेको राईजिङ घरेलु मैदानमा आत्मविश्वासी पनि छ । उता सहारासँग पनि अनुभवी र राष्ट्रियस्तरका चर्चित खेलाडीहरुको बाहुल्य छ ।

सुनवल–१२, भूमही स्थित शहिद रंगशालामा ४ बजेदेखि शुरु हुने आजको दोस्रो सेमिफाइनलमा दुवै टोली बीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

राईजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान, सुनवल–१२, भूमही, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ३ लाख ११ हजार प्राप्त गर्ने प्रतिष्ठानका महासचिव धमेन्द्र अग्रहरीले बताए । फाइनल खेल यही जेठ २४ गतेका दिन हुनेछ ।

Post Comments