News मदन मेलाः छथर जोरपाटी, गिरी समाज, चुहानडाँडा, थोक्लुङ र शितल छहारी विजयी
रमेश समदर्शी

संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रिमोहन माविको खेल मैदानमा जारी ऐतिहासिक मदन मेला २०८१ को अवसरमा आयोजित पुरुषतर्फ बुधबार ५ खेल सम्पन्न भएका छन् । जसमा छथर जोरपाटी, गिरी समाज, चुहानडाँडा, थोक्लुङ र शितल छहारी विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

आज भएको पहिलो खेलमा छथर जोरपाटी धनकुटाले लिसिबुङ एफसीलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि रोजिएको टाइब्रेकरमा छथर जोरपाटीले ४-३ गोलअन्तरमा जित दर्ता गर्यो ।

यस्तै, दोस्रो खेलमा धरानको टोली नआएपछि शितल छहारी क्लबले सोझै वाकओभर पायो । तेस्रो खेलमा बीबीसी तम्फुलाको टोलीलाई १-० गोलअन्तरले पराजित गर्दै लुङामत्ता सहकारी चुहानडाँडा विजयी बन्यो । उसका लागि सेनेहाङ लिम्बूले गरेको गोल नै निर्णायक बन्यो ।

यस्तै, चौथो खेलमा गिरी समाज खाम्लालुङले चहानडाँडा ६ लाई ३-१ गोलअन्तरमा पराजित गर्यो । गिरी समाजका लागि निर्देश राईले २ गोल र जमिन लिम्बूले १ गोल गरे । चुहानडाँडाका लागि एकमात्र गोल विशाल लिम्बूले गरेका हुन् ।

पुरुषतर्फको अन्तिम खेलमा युथ स्पोर्टिङ क्लब थोक्लुङ विजयी भयो । निर्धारित समयमा प्रगतिशील तमु समाजसँग बराबरी खेलेपछि टाइब्रेकरमा थोक्लुङले बाजी मारेका हो । जसमा थोक्लुङले ३-० गोलमा जित दर्ता गर्यो ।

महिलातर्फ फेदापको मुनाल विजयी

आजै भएको महिलातर्फको पहिलो खेलमा मुनाल ए युथ क्लब फेदापले जित दर्ता गरेको छ । युथ स्पोर्टिङ क्लब थोक्लुङसँग गोलरहित बराबरी खेलेपछि टाइब्रेकरमा फेदापले बाजी मारेको हो । जसमा फेदाप ४-३ गोलअन्तरमा विजयी भएको हो ।

बिहीबार ६ वटा खेल हुने आयोजकले जनाएको छ । २०१५ सालदेखि लाग्दै आएको मदन मेलामा पुरुषतर्फ २७ टोली र महिलातर्फ ६ टोली सहभागी रहेका छन् । पुरुषतर्फको विजेताले नगद २ लाख र महिलातर्फको विजेताले ८० हजारसहित रनिङ ट्रफी प्राप्त गर्नेछ ।

 

Post Comments