News सक्रिय र ऋषेश्वर सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । सक्रिय युवा क्लब र ऋषेश्वर ११ फुटबल क्लब यहाँ जारी पाँचौं थाहा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

इन्द्रायणी चौरमा भएको खेलमा सक्रियाले बिनयबाबु स्मृति प्रतिष्ठानलाई ३–१ ले हरायो । सक्रियको जितमा ज्याकी बलामीले दुई गोल गरे भने थप एक गोल रुपक बिष्टले गरे । पराजित बिनयबाबुका लागि महेश तामाङले एक मात्र गोल फर्काए ।

खेलमा सक्रियका ज्याकी बलामी म्यान अफ द म्याच चुनिए । यो जितसँगै सक्रिय सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

त्यस्तै दोस्रो खेलमा ऋषेश्वरले भिमफेदी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । ऋषेश्वरका लागि सुनिल तामाङले एक मात्र गोल गरे । निर्णायक गोलकर्ता तामाङ नै खेलको म्यान अफ द म्याच चुनिए । यो जितपद्धि ऋषेश्वर पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

थाहा नगरपालिका नगर खेलकुद विकास समिति, मकवानपुरको आयोजना तथा शिखर क्लब, शिखरकोटको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १५ गतेका दिन हुनेछ ।

Post Comments