News बाहुनडाँगी बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
रमेश समदर्शी

भापा । झापाको बाहुनडाँगी युथ क्लब झापा जिल्लास्तरीय बी डिभिजन लिग च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलमा बिर्तामोड युनाइटेड एफसीलाई पराजित गर्दै बाहुनडाँगी च्याम्पियन बनेको हो ।

बी डिभिजनबाट बढुवा भएको दुवै टोलीको आज फाइनल प्रतिस्पर्धा भएको थियो । जसमा बाहुनडाँगीले ३-२ गोलअन्तरले बिर्तामोडलाई पराजित गरेको हो । बिर्तामोडले सुरुवाती अग्रता लिएको थियो ।

तर, बिर्तामोडको अग्रता त्यति धेरै टिक्न सकेन । बिर्तामोडका लागि सुजन विश्वकर्माले खेलको २ मिनेटमै अग्रता दिलाएका थिए । तर, बाहुनडाँगीका रिक्की प्रधानले १४औँ मिनेटमा बराबरी गोल फर्काए ।

फेरि ३१औँ मिनेटमा नगरेन्द्र खत्रीले गोल गर्दै बिर्तामोडको अग्रता दोब्बर बनाए । पहिलो हाफको थप समयमा बिर्तामोडका रोशन गुरुङले आत्मघाती गोल गर्दा बाहुनडाँगी फेरि खेलमा फर्कियो । बाहुनडाँगीका लागि निर्णायक गोल दोस्रो हाफको १४औँ मिनेटमा रिक्की प्रधानले गरे ।

उनी प्लेयर अफ दी म्याच र प्लेयर अफ दी टुर्नामेन्ट बन्दै नगद पुरस्कार पाउन सफल भए । यसैगरी, सर्वाधिक गोलकर्ता बिर्तामोडका सुजन विश्वकर्मा, उत्कृष्ट गोलरक्षक वाहुनडाँगीका अभिषेक लिम्बू र उत्कृष्ट प्रशिक्षक बाहुनडाँगीकै विमलराज पाण्डे बने ।

उपविजेतामा समेटिएको बिर्तामोडले नगद १५ हजारमा चित्त बुझायो भने च्याम्पियन टोली बाहुनडाँगीले उपाधिसहित नगद ३० हजार पायो ।

Post Comments