News दाङ: कोरियन व्यवसायी दम्पतीले खेलकूद सामग्री हस्तान्तरण
गोलनेपाल

दक्षिण कोरियाको थेगु शहर निवासी कोरियन व्यवसायी दम्पतीले तुलसीपुरस्थित हिरा डाँगी फाउण्डेशनअन्तर्गत फूटबल प्रशिक्षण गरिरहेका बालबालिकालाई एक कार्यक्रम आयोजना गरी खेलकूद सामग्री हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बालबालिकालाई फूटबल प्रशिक्षणका लागि आवश्यक पर्ने सामग्रीहरु किटवाला जुत्ता, जर्सी, फूटबललगायतका करिब तीन लाख बराबरको सामग्री हस्तान्तरण गरिएको थियो ।

यी सामग्रीहरु व्यवसायी दम्पती श्रीमान् खाङयोङ ग्यो र श्रीमती किम युनाले हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै दाता खाङयोङ ग्योले हाल हिरा डाँगी फाउण्डेशनका प्रशिक्षक प्रेस गिरी कोरिया बस्दा आफ्नो चिनजान भएका कारण नेपालमा सहयोग गर्ने मनसाय बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘नेपाल रोज्नुको कारण प्रेसजीसँगको चिनजानले हो । खासगरी मेरो छोरा पनि फूटबल खेल्ने भएकोले फूटबल प्रशिक्षार्थीहरुलाई सहयोग गर्ने हाम्रो निर्णय भएको हो । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौं ।’ हाल हिरा डाँगी फाउण्डेशनमार्फत ७० जना बालबालिकाले फूटबल प्रशिक्षण गरिरहेका छन् । तीमध्ये ३० जना बालबालिकालाई अहिले विभिन्न खेलकूलका सामग्री हस्तान्तरण गरिएको प्रशिक्षक गिरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘उत्कृष्ट प्रदर्शन गर्ने बालबालिकालाई यी सामग्री हस्तान्तरण गरेका छौं । यो दम्पतीले हाल आर्थिक अवस्था कमजोर भएका एकजना बालकलाई निःशुल्क अध्ययन गर्ने वातावरण पनि मिलाइदिएको छ र आगामी वर्ष अरु एकजनालाई निःशुल्क अध्ययन गर्नका लागि छनोट गर्ने भएको छ ।’

Post Comments