ANFA २८औँ भुजि लिग रनिङशिल्डको क्वाटरफाइनल सुरु, टिम जिरि सेमिफाइनलमा प्रवेश
गोलनेपाल

रामेछाप। उमाकुण्ड गाउँपालिका–७, भुजि स्थित अमृत घामछायाँ खेल मैदानमा फुटबल क्लब भुजि (एफसीबी) को आयोजना तथा उमाकुण्ड गाउँपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको २८औँ भुजि लिग रनिङशिल्ड फुटबल प्रतियोगिताको चौथो दिन क्वाटरफाइनल चरणका खेलहरू सुरु भएका छन्।

प्रतियोगिताको चौथो दिनको पहिलो क्वाटरफाइनल खेलमा टिम जिरि र यलुङ युनाइटेडबीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयको खेलमा टिम जिरिले २–१ गोलको जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ।

त्यस्तै, दोस्रो क्वाटरफाइनल खेलमा गत संस्करणको विजेता लिभिरा एफसी र आयोजक फुटबल क्लब भुजि (एफसीबी) ‘ए’ बीच प्रतिस्पर्धा भएको थियो। खराब मौसमका कारण खेल निर्धारित समयमा सम्पन्न हुन नसक्दा दुवै टोलीले गोल गर्न सकेनन्। उक्त खेल ०–० गोलको बराबरीमा रोकिएको छ। खेलको बाँकी समय भोलि सञ्चालन गरिने छ।

प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख ४८ हजार ८२८ सहित एक किलो चाँदी र एक तोला सुनको जलप लगाइएको आकर्षक रनिङशिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीले नगद रु. ७४ हजार ८२८ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै, प्रतियोगिताको व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ। सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही रु. १८ हजार ८२८ प्राप्त गर्नेछन्।

कुल १५ टोलीको सहभागिता रहेको प्रतियोगिता स्थानीय फुटबलको विकास, खेलाडीहरूको प्रतिभा प्रस्फुटन तथा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

प्रतियोगिताको चौथो दिनको एक क्वाटरफाइनल खेल सम्पन्न भएको छ भने बाँकी खेलहरू भोलि सञ्चालन हुनेछन्। प्रतियोगिताको फाइनल खेल कात्तिक १५ गते हुनेछ।

Post Comments