News हानामी बिएफसी सेमिफाइनलमा
गोलनेपाल

चितवन । रोमाञ्चक खेलमा हर्दी युवा समाजलाई हराउँदै हानामी भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल प्रथम भरतपुर १८ गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न तेस्रो क्वाटरफाइनलमा हर्दीलाई ३-२ ले हराउँदै बिएफसीले सेमिफाइनलमा स्थान बनाएको हो ।

रोमाञ्चक खेलमा बिएफसीलाई जिताउन रिचार्ड विल्सनले दुई तथा प्रदीप लामाले एक गोल गरे । हर्दीका रोशन दोङ र अन्जन बचारले एक-एक गोल गरे । खेलको २० औं मिनेटमा प्रदीपको गोलमा बिएफसीले अग्रता लिएको थियो । २२ औं मिनेटमा रिचार्डले बिएफसीलाई दोहोरो अग्रता दिलाए ।

दोस्रो हाफको सुरुवातमा नै हर्दी खेलमा फर्कियो । दोस्रो हाफको चौथो मिनेटमा बिएफसीका गोलकिपर मनोज गुरुङले हर्दीका एन्जल महर्जनलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिए । प्राप्त अवसरलाई सदुपयोग गर्दै रोशन दोङले गोल गरे । लगत्तै दोस्रो हाफमा मैदान छिरेका अन्जनले १० औं मिनेटमा गोल गरेपछि हर्दी खेलमा फर्कियो ।

तर हर्दीको त्यो खुशी धेरै समय टिकेन । दोस्रो हाफको १० औं मिनेटमा रिचार्डले व्यक्तिगत दोस्रो गोल गर्दै विएफसीलाई फेरि ३-२ को अग्रता दिलाए । खेलमा बाँकी समयमा थप गोल हुन सकेन र बिएफसी ३-२ ले विजयी भयो । रिचार्ड नै म्यान अफ दि म्याच भए ।

बिएफसीले अब सेमिफाइनलमा सेन्ट्रल कलेज २८ बिघाको सामना गर्नेछ । २८ बिघा न्यु दिव्यज्योतिलाई हराउँदै सेमिफाइनल प्रवेश गरिसकेको छ ।खेलकुद बिकास समन्वय समिति भरतपुर १८ गुञ्जनगरको आयोजनामा जारी गोल्डकपमा शनिबार अन्तिम क्वाटरफाइनलका खेल हुनेछ । जसमा सूर्यपुर एफसी र माडी २ भिड्नेछन् ।

बैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख २२ हजार २२२ र उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र सर्वाधिक गोलकर्ताले जनही पाँच-पाँच हजार तथा म्यान अफ दि म्याचले दुई हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका खेलहरु गोलनेपालबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

Post Comments