काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ तर्फ समूह के को आफ्नो पहिलो खेलमा कंगोसँग बराबरी खेलेको पोर्चुगलले आफ्नो दोस्रो खेलमा भने उत्कृष्ट जित हात पारेको छ ।
मंगलबार अबेर राती सम्पन्न खेलमा पोर्चुगलले उज्वेकिस्तानमाथि ५–० को उत्कृष्ट जित हात पारेको हो । पोर्चुगलको जितमा स्टार कप्तान क्रिष्टियानो रोनाल्डोले दुई गोल गर्दा नुनो मेन्डेज र राफेल लियाओले एक–एक गोल गरे । थप एक गोल भने उज्वेक खेलाडी अब्दुवोहिद नेमाटोवले आत्मघाती गोलका रुपमा गरेका थिए ।
खेलमा दुई गोल गरेका ४१ वर्षिय रोनाल्डोले फिफा विश्वकपमा नयाँ र दुर्लभ किर्तिमान समेत बनाए । त्यो दुई गोलसँगै फिफा विश्वकपको इतिहासमा ६ विश्वकपमा गोल गर्ने उनी पहिलो र एक्लो खेलाडी समेत बने ।
यो जितसँगै दुई खेलबाट ४ अंक जोडेको पोर्चुगल समूहको शिर्ष स्थानमा उक्लेको छ । र, नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि बलियो बनाएको छ । दोस्रो स्थानमा एक खेलबाट ३ अंक जोडेको कोलोम्बिया छ र उसले बुधबार बिहान कंगोसँग खेल्ने कार्यक्रम छ ।
त्यस्तै एक अंक जोडेको कंगो तेस्रो स्थानमा रहँदा अंकविहीन उज्वेकिस्तान पुछारमा छ । पोर्चुगलले समूह चरणको अन्तिम खेलमा जुन २७ तारीखका दिन कोलोम्बियाको सामना गर्नेछ भने सोही दिन उज्वेकिस्तानले कंगोसँग खेल्नेछ ।