News विभागीय भिडन्तमा पुलिससँग आर्मी निराश
गोलनेपाल

काठमाडौं । यहाँ जारी केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई टाईब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

टाईब्रेकरमा भने पुलिसले आर्मीलाई ४–३ ले निराश बनाउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । पुलिसले फागुन १५ गतेका दिन हुने अन्तिम क्वाटरफाइनलतर्फ मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १९ गतेका दिन हुनेछ ।

Post Comments