News युवा संघ नेपाल र खेलकुद पत्रकार मञ्चबीच मैत्रीपूर्ण फुटसल सम्पन्न
गोलनेपाल

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीचको मैत्रीपूर्ण फुटसल ५–५ को बराबरीमा टुंगिएको छ । केपी ओली कप–२०८० को प्रचार–प्रसारको उदेश्यसहित बिहीबार आयोजित मैत्रीपूर्ण फुटसलमा एनएसजेएफले ५–१ ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको हो ।

युवा संघका मिसन राईले ह्याट्रिक गरे । यस्तै, युवा संघका अध्यक्षसमेत रहेको क्षितिज थेवे र मिलन बमले समान एक गोल थपे । एनएसजेएफका शिशिर बस्नेतले ह्याट्रिक गर्दा अभिनव जोशी र बासु ढेके अवालले एक–एक गोल गरे ।

केपी ओली कपको दोस्रो संस्करण फागुन ११ देखि २० गतेसम्म आयोजना हुने तालिका छ । यसअघि प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो ।

प्रतियोगिताको फाइनलबाहेक सबै खेल च्यासलस्थित एन्फाको मैदानमा हुनेछ । फाइनल खेल भने शरथ रंगशालमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि खुला आह्वान गरिने र त्यसपछि सहभागी टिमको छनोट गरिने पनि आयोजकले जनाएको छ ।

Post Comments