News नव टिकुलीगढ (बी) र सञ्जिवनीको जित
सुरज राना मगर

टिकुलीगढ । आयोजक नव टिकुलीगढ युवा क्लब (बी) र सञ्जिवनी युवा क्लब यहाँ जारी स्व. गंगादेवी गुरुङ्ग स्मृति दोस्रो नवटिकुलीगढ कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

तिलोत्तमा–१४ स्थित टिकुलीगढ माविको खेलमैदानमा भएको पहिलो खेलमा आयोजक नव टिकुलीगढ (बी) ले सेमरी फुटबल क्लबलाई टाईब्रेकरमा ४–३ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा नव टिकुलीगढका गोलरक्षक पेमा गुरुङ्ग म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा सञ्जिवनीले हाटी अमुवा फुटबल क्लबलाई टाईब्रेकर मै ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी नै खेलेका थिए । खेलमा सञ्जिवनीका बिशाल थापा म्यान अफ द म्याच घोषित भए ।

आउँदो पुस २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments