News सहज जितका साथ सगरमाथा सेमिफाइनलमा
गोलनेपाल

फुङलिङ । सहज जित हात पार्दै सगरमाथा युथ क्लब, मोरङ यहाँ जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

चौथो तथा अन्तिम क्वाटरफाइनलतर्फ सगरमाथाले बि.टि. फुटबल क्लब, तेह्रथुमलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । सगरमाथाको जितमा भुवन बस्नेतले दुई गोल गरे भने बिशाल भण्डारी र बिरेन्द्र लिम्बुले थप एक–एक गोल गरे ।

खेलमा सगरमाथाका लागि दुई गोल गरेका भुवन बस्नेत म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५००० र मेडल हात पारे । प्रतियोगिता अन्तर्गत पुस ८ गते आइतबारको पहिलो सेमिफाइनलख चक्रघट्टी फुटबल क्लब, सुनसरी र आठराई गाउँपालिका, तेह्रथुम बीच हुने आयोजकले जानकारी दियो ।

चासोक तङनाम पर्वको अवसर पारी कञ्चनजंघा फुङलिङ क्लब, फुङलिङ–४, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २ सय ८० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ प्राप्त गर्ने खेल संयोजक चन्द्र थेबेले बताए । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पुस ११ गतेका दिन हुनेछ ।

Post Comments