
पोखरा । ए डिभिजन लिगको उपविजेता तथा दावेदार मध्ये एक त्रिभुवन आर्मी क्लबलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब जारी १८औं आहा! रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा मनाङले आर्मीमाथि ३–२ को जित निकाल्यो । खेलमा शुरुवाती अग्रता मनाङले नै लिएको थियो ।
खेलको चौथो मिनटमै फ्लोरेन्ट कोआराको गोलबाट मनाङले खेलमा अग्रता बनाएको थियो । लगतै २९औं मिनटमा बिमल रानाले मनाङको त्यो अग्रता दोब्बर पारे ।
तर पहिलो हाफ हुनुभन्दा चार मिनट अघि आर्मीका कप्तान भरत खवासले पहिलो गोल गर्दै विभागीय टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर पनि पहिलो हाफसम्म मनाङले २–१ कै अग्रता कायम राख्यो ।
पोखरेली मैदानमा राम्रो प्रदर्शन गरेको मनाङका लागि ८१औं मिनटमा अन्जन बिष्टले आर्मीका गोलरक्षक र डिफेन्डरलाई बिट गर्दै बक्स भित्रबाट तेस्रो गोल गरे । त्यसको दुई मिनट लगतै दिप लामाले आर्मीका लागि दोस्रो गोल फर्काए तापनि अन्तिम समयमा आर्मी निराश बन्न पुग्यो ।
खेलमा मनाङका फ्लोरेन्ट म्यान अफ द म्याच घोषित भए । अब उपाधिका लागि मनाङले चैत्र १ गते अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग फाइनल खेल्नेछ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड