News आयोजक ज्योतिपुञ्ज (सेतो) सेमिफाइनलमा
सुरज राना मगर

रामपुर । संघर्षपुर्ण जितका साथ आयोजक ज्योतिपुञ्ज युवा क्लब (सेतो) यहाँ जारी ज्योतिपुञ्ज कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बाई पाएर सोझै क्वाटरफाइनल खेलेको ज्योतिपुञ्ज (सेतो) ले भिमाद युथ क्लब, तनहुँलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

रामपुर–७, किसानबारी स्थित ज्योतिपुञ्ज खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ आयोजकका लागि कृपा चौधरीले गोल गरेका थिए भने भिमादका लागि लोकेश थापाले फ्रिकिक मार्फत सुन्दर बराबरी गोल फर्काएका थिए । टाईब्रेकरमा भने ज्योतिपुञ्ज (सेतो) ले भिमादमाथि ४–१ को जित निकाल्दै सेमिफाइनल स्थान पक्का गर्यो ।

खेल अवधिभर र टाईब्रेकरमा पनि उत्कृष्ट प्रदर्शन गरेका आयोजक ज्योतिपुञ्जका गोलरक्षक बिशाल चौबे म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै बुधबार नै भएको एक मात्र प्रिक्वाटरफाइनल खेलमा फर्साटिकर युवा क्लब, रुपन्देहीले ज्योतिपुञ्ज युवा क्लब (रातो) लाई ६–० ले हरायो । फर्साटिकरका लागि आशिष जिसीले ह्याट्रिक गरे भने बलराम न्यौपानेले दुई गोल गरे । थप एक गोल भने कृष्ण रानाले गरे ।

खेलमा ह्याट्रिक गरेका फर्साटिकरका आशिष जिसी म्यान अफ द म्याच समेत चुनिए । यो जितसँगै फर्साटिकर भने क्वाटरफाइनलमा प्रवृेश गरेको छ । साथै फर्साटिकरले अन्तिम क्वाटरफाइनलतर्फ असोज २५ गते बिहीबार सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब, नवलपुरसँग खेल्ने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।

ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिए । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने असोज २८ गतेका दिन हुनेछ ।

Post Comments