
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली महिला फुटबल टोलीलाई मंगलबार विदाई गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्पलेक्समा भएको विदाई कार्यक्रममा टोलीलाई एन्फाका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्काले शुभकामनासहित विदाई गरे । सो अवसरमा एन्फाका उपाध्यक्ष विराट जंग शाही, कार्यसमिति सदस्यहरु पुरुषोत्तम थापा, पेमा डोल्मा लामा, सरिला श्रेष्ठ तथा महासचिव किरन लगायतले यु–२० महिला फुटबल टोलीलाई शुभकामनासहित विदाई गरेका थिए ।
टोलीको मुख्य प्रशिक्षकमा यम प्रसाद गुरुङ्ग रहेका छन् । स्मरण रहोस, नेपालले यही माघ २० देखि २६ गतेसम्म बंगलादेशको राजधानी ढाकामा हुने साफ यु–२० महिला च्यामिपयनसिपमा सहभागिता जनाउँदैछ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान रहेका छन् ।
नेपाल यु–२० टोलीः
गोलकिपर्सः कबिता बिक, साबित्री किशन, लिला जोशी
डिफेन्डर्सः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यसमाली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डर्सः तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई (कप्तान), अन्जली मचमसी, सरस्वती हमाल, दिपा शाही
फरवार्डसः गरिमा राई, अमिषा कार्की, ममता पुन, अन्जली चन्द