News आर्मीको सहज जित, स्पष्ट अग्रता
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा उपाधिको दावेदार मानिएको नेपाल आर्मी क्लबले सहज जित निकाल्दै आफ्नो शिर्षतालाई कायम राखेको छ ।

दशरथ रंगशालामा भएको खेलमा आर्मीले च्यासल युथ क्लबलाई ३–० ले हराउँदै लिगतालिकामा तीन अंकको स्पष्ट अग्रता बनाउन सफल भएको हो ।

सोमबारको उक्त खेलमा आर्मीले सबै गोल दोस्रो हाफमा गर्यो । आर्मीका लागि ५८औं मिनटमा कप्तान भरत खवासले पहिलो गोल गरे । नवयुग श्रेष्ठले ७३औं मिनटमा त्यो अग्रता दोब्बर पारे भने ८४औं मिनटमा सन्तोष तामाङले पेनाल्टीबाट तेस्रो गोल गरे ।

खेलमा आर्मीलाई आफ्नो नतिजा ४–० बनाउने राम्रो अवसर थियो । तर, प्राप्त पेनाल्टीलाई नवयुग श्रेष्ठले गोलमा परिणत गर्न सकेनन् । उनले दाँया कुना च्यापेर गरेको प्रहार पोष्ट बारमा लाग्न पुगेको थियो ।

खेलमा आर्मीका कप्तान भरत खवास म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत ट्रफी र नगद १० हजार प्राप्त गरे ।

यद्यपि यो जितसँगै आर्मीले ७ खेलबाट १६ अंक जोड्दै लिगतालिकामा ३ अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्रको १३ अंक छ । त्यस्तै उता पराजित च्यासल भने ६ अंकका साथ १२औं स्थानमा छ ।

Post Comments