
दुहबी । वार्ड नम्बर ४ यहाँ जारी चौथो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो क्वाटरफाइनलमा वार्ड नम्बर ४ ले वार्ड नम्बर १ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
श्री सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलको ४६औं मिनटमा सुरज राजवंशीले गरेको एक मात्र गोल वार्ड नम्बर ४ लाई सेमिफाइनलमा पुर्याउन निर्णायक बन्यो । निर्णायक गोलकर्ता राजवंशी नै म्यान अफ द म्याच घोषित भए । उनलाई प्रमुख अतिथी अजुल हुसेनले नगद २ हजार र मेडलसहित पुरस्कृत गरे ।
प्रतियोगिता अन्तरगत फागुन १६ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल वार्ड नम्बर ३ र ६ बीच हुने आयोजकले जनाएको छ । दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबी सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल फागुन २२ गतेका दिन हुनेछ ।