
काठमाडौं । रुपन्देहीको फुटबलमा ‘शिव गुरुङ’ को नाम जति नौलो छ, त्यो भन्दा बढी परिचित नाम छ, ‘डेविड गुरुङ । तर, रोचक कुरा यी दुवै नाम एउटै व्यक्तिका हुन् ।
जिल्लाको स्थानीय फुटबलमा डेविड कै नामले परिचित भए तापनि तीनै डेविड अहिले शिव गुरुङको नामले पनि उदाउने प्रयासमा छन् । “नाम त शिव नै हो । तर सबैले डेविड भनेर चिन्छन् ।’ कुराकानीका क्रममा मुसुक्क हाँस्दै डेविडले भने ।
तिलोत्तमा नगरपालिका–१४ टिकुलीगढ, रुपन्देहीका स्थायी वासिन्दा डेविड सानैदेखिको खेलकुदको मोहले फुटबलतर्फ आकर्षित भएको बताउँछन् । “सानोमा साथीभाईहरुसँग रमाइलोका लागि खेल्थें । विस्तारै यसमै रमाउन थाले । अहिले त व्यवसायीक खेलाडी नै भएको छु ।” फुटबलको रमाइलो अतितलाई यसरी सम्झिन्छन डेविड ।
रुपन्देही जिल्लाको स्थानीय फुटबलमा विशेष पहिचान बनाएका लिस्नु युवा क्लब, झरना स्पोर्टस क्लब जस्ता थुप्रै स्थानीय क्लबहरुबाट जिल्ला भित्र र बाहिर खेल्दै राम्रो प्रदर्शनसँगै फुटबलको राम्रो अनुभव बटुलेका डेविडले आफ्नो प्रदर्शन कै कारण काठमाडौंका रैथाने क्लबहरुको ध्यान तान्न पनि भ्याए ।
गत सिजन शहिद स्मारक बी डिभिजन लिग बाँसबारीका लागि खेल्दै टोलीलाई तेस्रो स्थानसम्म पुर्याउन अहम भूमिका खेलेका उनै डेविड उर्फ शिव अन्य क्लबहरुको नजरमा पनि पर्न थाले । जसको फलस्वरुप उनी यसै बर्ष हुने शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगिताका लागि नेपालको चर्चित न्युरोडटिम (एनआरटी) क्लबमा आवद्ध हुन सफल भए ।
नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्लब फुटबलमा आफ्नै पहिचान बोकेको एनआरटीमा आवद्ध हुन पाउँदा शिव खुशी पनि छन् । उनी भन्छन्, “एनआरटी जस्तो क्लबमा आवद्ध भएर शिर्ष लिगमा खेल्ने अवसर पाउँदा खुशी लागेको छ । यो बर्ष एक सिजनका लागि क्लबसँग सम्झौता गरेको छु । शिर्ष क्लब फुटबलमा पनि राम्रो गर्छु भन्ने विश्वास छ ।”
उमेरले भर्खरै २० मा दगुरिरहेका डेविडको फुटबल यात्रा क्लब फुटबलमा मात्रै नभएर अहिले अन्तर्राष्ट्रिय फुटबल मै छलाङ मार्ने संघारमा छ । अर्थात, आगामी बर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२३ एसियन कपको छनौट प्रतियोगिताका लागि नेपाली यु–२३ टोलीको बन्द प्रशिक्षणमा डेविड पनि परेका छन् ।
मैदानमा रक्षकको भूमिकामा खेल्ने उनी फुलब्याक र आवश्यकता अनुसार राईट ब्याक डिफेन्समा पनि खेल्न सक्ने उनी बताउँछन् । मैदानभित्र पसेपछि डिफेन्डर भएर विपक्षीसँग बल रोक्ने, खोस्ने मात्र नभएर अगाडी बल मिलाउन पनि सक्नु पर्ने डेविडको बुझाई छ ।
“भूमिका त मेरो रक्षक कै हो । तर टिमको परिस्थति अनुसार अगाडी बढेर पनि खेल्न सक्छु । डिफेन्डर भएर विपक्षी खेलाडीलाई मार्क गर्ने मात्र नभएर आफ्नो टिमको साथीहरुलाई पनि अवसर र पास मिलाइदिनुपर्छ जस्तो मलाई लाग्छ ।” डेविडले कुराकानी कै क्रममा आफ्नो विचार पोखे ।
त्यस्तै नेपाली फुटबलमा अधिकांश फुटबल खेलाडीहरुको एउटा कमजोरी हुन्छ उनीहरुको उचाईं । तर यो मामिलामा डेविडलाई भने उचाईले पनि राम्रै साथ दिएको छ । करिब ६ फिट अग्ला डेविडसँग लोभलाग्दो उचाईंसँगै विपक्षी खेलाडीहरुलाई रोक्ने क्षमता पनि रहेको उनी बताउँछन् ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पहिलोपटक परेका डेविडको लक्ष्य पनि देशकै लागि खेल्ने रहेको छ । “अहिलेसम्म राम्रो गरिरहेको छु । अझै कडा मिहिनेत र अभ्यास गर्छु । अन्य खेलाडी सरह देशका लागि नै खेल्ने लक्ष्य मेरो पनि हो । यस्तो अवसरलाई सक्दो सदुपयोग गर्न प्रयासरत पनि छु ।”
नेपाली फुटबलको भविष्य राम्रो भए तापनि अनिश्चित भएको उनी बताउँछन् । तर खेल्दासम्म फुटबल मै समर्पित हु्न चाहन्छन् डेविड । फुटबल मै लाग्न उनलाई घरपरिवारको पनि साथ मिलेको डेविड बताउँछन् ।
“घर परिवार कै साथले गर्दा अहिलेसम्म फुटबलमा रमाइरहेको छु । भविष्य त कसैको पनि निश्चित छैन नि । तर अहिले खेल्दासम्म फुटबल मै केन्द्रित हुन चाहन्छु । र खेलेरै भए पनि देशका लागि केही हदसम्म राम्रो गर्नेमा आशावादी छु ।” डेविड हाँस्दै भन्छनु, “खेलेरै देशका लागि राम्रो गरे घरपरिवार पनि खुशी होलान नि ।”
ताजिकिस्तानमा खेल्दैछ नेपाल
एएफसी यु–२३ एसियन कप छनौट प्रतियोगिता यहि अक्टुबर अन्तिमतिर ताजिकिस्तानमा शुरु हुँदैछ । छनौट प्रतियोगितातर्फ समूह बी मा परेको नेपालले एसियन पावर हाउस इरानसँगै आयोजक ताजिकिस्तान र लेबनानसँग खेल्ने कार्यक्रम छ ।
नेपालले आफ्नो पहिलो खेल अक्टुबर २५ तारीखका दिन इरानसँग खेल्नेछ भने २८ अक्टुबरका दिन ताजिकिस्तानसँग खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले ३१ अक्टुबरका दिन लेबनानसँग भिड्नेछ ।
अनुभवी प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षकीय जिम्मेवारीमा रहेको नेपालको यु–२३ टोली हाल बन्द प्रशिक्षण मै व्यस्त छ । टोलीमा परेका केही खेलाडीहरु भने हाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालको सिनियर टोलीबाट खेलिरहेका छन् । ती खेलाडीहरु साफ पछि यु–२३ टोलीमा सामेल हुने बताइएको छ ।