News अब्दुलाले फेरि पोखे असन्तुष्टी
गोलनेपाल

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले राजनीति हावी भएको भन्दै फेसबुकमार्फत फेरि अर्को असन्तुष्टी पोखेका छन् ।

अब्दुलाले बुधबार आफ्नो फेसबुकमा “आई एम आउट । लेट पोलिटिक्स वर्क ।” भन्दै स्टाटस लेखेका छन् । उनको भनाईको अर्थ छ “म बाहिरिए । राजनीति गर्नेलाई गर्न देउ ।”

उनको यो स्टाटस पोस्ट भए लगतै थुप्रैले प्रतिक्रिया दिएका छन् । यो पोष्टले नेपाली फुटबलमा फेरि अर्को विवाद चुलिने संकेत देखिएको छ । स्मरण रहोस, अब्दुला र एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङबीचको विवाद राम्रोसँग सेलाउन पाएको छैन । यसबारे गठन गरिएको छानविन समितिले खासै ठोस निर्णय लिन पनि सकेन ।

प्रतिवेदनले प्रशिक्षक अब्दुलालाई आफ्नो बानी व्यवहार सुधार्नु पर्ने ठहर गरेको थियो । प्रतिवेदनका अनुसार प्रशिक्षकले व्यवसायीक आचरण र व्यक्तिगत व्यवहारमा सुधार गर्नुपर्ने तथा खेलाडीहरुलाई गुणस्तरीय प्रशिक्षण दिनुपर्ने कुरा उल्लेख छ ।

साथै सामाजिक सञ्जालबाट राजिनामाबारे पोष्ट हटाउन, सामाजिक सञ्जाल लगायत अन्य कतै विवादित अभिव्यक्ति नदिन र एन्फाको सम्बन्धित पदाधिकारीको अनुमति लिएर मात्रै सञ्चारमाध्यमहरुलाई अन्तरवार्ता दिन निर्देशन दिइएको थियो ।

हाल प्रशिक्षक अल्मुतारी राष्ट्रिय फुटबल टोलीसँगै बन्द प्रशिक्षणका लागि पोखरमा छन् । मंगलबार उनले पोष्ट गरेको स्टाटसले फेरि नेपाली फुटबलमा तरंग पैदा गरेको छ ।

सम्झनु पर्ने कुरा त, नेपालले यहि आउँदो सेप्टेम्बर २ र ५ तारीखका दिन भारतसँग दुई मैत्रीपुर्ण फुटबल म्याच खेल्ने तय भईसकेको छ । साथै नेपाली टोली साफ च्याम्पियनसिपको तयारीमा पनि छ । मुख्य प्रशिक्षकको फेरि यस्तो स्टाटसले बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमा असहजता सिर्जना नहोस भन्ने धेरैको बुझाई पनि छ ।

Post Comments