News नेपालले भारतसँग दुई मैत्रीपूर्ण म्याच खेल्ने पक्का
गोलनेपाल

काठमाडौं । नेपालको पुरुष राष्ट्रिय फुटबल टोलीले भारतसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पक्का भएको छ । यो कुराको पुष्टी अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत गरेको छ ।

शुक्रबार एन्फाले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत भारतसँगको मैत्रीपुर्ण फुटबल म्याचबारे पुष्टी गरेको हो । नेपालले भारतसँग आगामी महिना अर्थात् सेप्टेम्बर २ र ५ तारीख (भाद्र १७ र २० गते) का दिन मैत्रीपुर्ण फुटबल म्याच खेल्नेछ । एन्फाका अनुसार दुवै खेलहरु काठमाडौं स्थित दशरथ रंगशालामा हुने छन् ।

स्मरण रहोस, नेपाल र भारत दुवै टोली अहिले आउँदो प्रतिष्ठित साफ च्याम्पियनसिपको तयारीमा छ । जुन यसै बर्ष हुने तय छ । यद्यपि खेलस्थलबारे भने अझै टुंगो लागेको छैन । प्रतियोगिता आयोजनाका लागि नेपाल र माल्दिभ्सले आ–आफ्नो दावेदारीता पनि पेश गरिसकेका छन् ।

नेपाल विरुद्ध भारत कै पल्ला भारी

नेपाल र भारत समग्रमा कुल १९ पटक आमन सामने भएका छन् । जसमा भारतले १३ पटक जित आफ्नो पक्षमा पारेको छ भने नेपालले केवल दुईपटक मात्र भारतलाई हराउन सकेको छ । त्यसमध्ये नेपालले भारतलाई पछिल्लोपटक सन् २०१३ मा काठमाडौं मै सम्पन्न साफ च्याम्पियनसिपतर्फ २–१ ले हराएको थियो ।

त्यस्तै नेपालले घरेलु मैदान मै भारतसँग अन्तिमपटक सन् २०१५ को मार्चमा भिडेको थियो । सन् २०१८ को फिफा विश्वकप छनौट अन्तरगत भएको सो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

Post Comments