News चौरजहारी वारियर र टाटागाउँ पश्चिम दोस्रो शीतल चौरजहारी कपको क्वाटरफाइनलमा
गोलनेपाल

पश्चिम रुकुम। शीतल चौरजहारी नगरपालिका वडा नं २ रुकुम पश्चिम जिल्ला कर्णाली प्रदेशमा जारी दोस्रो शीतल चौरजहारी B-67 कप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार दुई प्रि क्वार्टरफाइनल खेल सम्पन्न भएका छन्। विक्रम सम्वत २०६७ सालमा शीतल चौरजहारी रुकुमका रहेको शीतल माध्यमिक विद्यालय बाट एकसाथ रूपमा एसएलसी दिएका विद्यार्थीहरूले पुनः एकजुट हुँदै आयोजना गरेको यस प्रतियोगिताको नामाकरण नै शीतल चौरजहारी B-67 कप राखिएको हो।

बिहिबार सम्पन्न पहिलो खेलमा विजेश्वरी युवा क्लब चौरजहारी रुकुमलाई ५-१ गोलको फराकिलो नतिजाले पराजित गरी चौरजहारी वारियर रुकुम प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो। चौरजहारी वारियरको जितमा भुपेन्द्र रावतले दुई गोल गर्दा सन्तोष बुढाथोकी, उत्तर आचार्य र पुजन सुनारले समान एक एक गोल गर्न सफल भएका हुन्। उक्त खेलमा दुई गोल गरेका भुपेन्द्र रावत खेलको प्लेयर अफ द म्याच चुनिएका छन्।

त्यसैगरी दोस्रो खेलमा रुकुमे गाउँ युवा क्लब चौरजहारीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै टाटागाउँ फुटबल क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निर्धारित समय दुवै टोली एक एक गोलको बराबरी खेलेका थिए। टाटा गाउँको लागि खेलको अन्त्यतिर प्रभास ओलीले शानदार गोल गर्दै अग्रता दिलाएका थिए तर उक्त अग्रता लामो समयसम्म टिक्न सकेन। निर्धारित समय सकिएसँगै थप गरिएको अतिरिक्त समयमा रुकुमे गाउँका लागि विशाल बिष्टले फ्री-किक मार्फत गोल गरी आफ्नो टोलीलाई खेलमा फर्काउन सफल भएका थिए।

पेनाल्टी सुटआउटमा दुबै टोलीबाट समान पाँच पाँच प्रहार हुँदा टाटा गाउँले ४-३ गोलको नतिजामा रुकुमेगाउँलाई पराजित गरेको हो। टाटागाउँका गोलरक्षक सन्तोष ओली निर्णायक पेनाल्टी बचाउ गरेसँगै उक्त खेलको प्लेयर अफ द म्याच घोषित भएका थिए।

शुक्रबार प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा थन्डर स्ट्राइक रुकुम र खलङ्गा फुटबल क्लब जाजरकोट बिहानको ठीक १० बजे प्रतिस्पर्धा गर्नेछन् भने,दोस्रो क्वाटरफाइनलमा सिम्ता फुटबल क्लब सुर्खेत र योङ स्टार रुकुम दिनको टिक २ बजे प्रतिस्पर्धा गर्नेछन्।

Post Comments