कैलाली । कैलालीको कैलारी गाउँपालिका–४ के गाउँमा जारी २७औँ निसर्ग महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत मंगलबार भएका खेलमा पुरुषतर्फ घोडाघोडी फुटबल एकेडेमी क्वार्टरफाइनलमा प्रवेश गर्दा महिलातर्फ वनदेवी समन्वय युवा क्लब सेमिफाइनलमा पुगेको छ।
पुरुषतर्फ घोडाघोडी फुटबल एकेडेमी, घोडाघोडी नगरपालिकाले युथ युनाइटेड क्लब, कैलारी गाउँपालिकालाई ३–० गोलले पराजित गर्यो। पहिलो हाफमा २–० को अग्रता बनाएको घोडाघोडीका ललित परियारले २६औँ र ३२औँ मिनेटमा गोल गरे। ६३औँ मिनेटमा पुनः गोल गर्दै ललितले ह्याट्रिक पूरा गरे। उनी खेलको उत्कृष्ट खेलाडीसमेत घोषित भए। जीतसँगै घोडाघोडीले क्वार्टरफाइनलमा स्थान बनाएको छ।
महिलातर्फ आयोजक न्यू युवा सुन्दर शक्ति क्लब, के गाउँलाई ३–० ले पराजित गर्दै वनदेवी समन्वय युवा क्लब सेमिफाइनलमा प्रवेश गर्यो। पहिलो हाफमा १–० को अग्रता बनाएको वनदेवीका लागि रितिका चौधरीले २३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरिन्। दोस्रो हाफमा पूजा चौधरीले ४१औँ तथा जमुना धामीले ५८औँ मिनेटमा गोल गर्दै टोलीको जीत सुनिश्चित गरे।
प्रतियोगिताअन्तर्गत बुधबार महिलातर्फ दिउँसो १:३० बजे घोडाघोडी क्लब, घोडाघोडी र सैपाल युवा क्लब, स्याउलेबजारबीच प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ दिउँसो ४ बजे जोखरबाबा क्लब, धनगढी र संघर्ष युवा क्लब, गोदावरी आमनेसामने हुनेछन्।
प्रतियोगितामा पुरुषतर्फ विजेताले रु. १ लाख र उपविजेताले रु. ५० हजार तथा महिलातर्फ विजेताले रु. ४० हजार र उपविजेताले रु. २५ हजार पुरस्कार प्राप्त गर्नेछन्। पुरुषतर्फ १६ तथा महिलातर्फ ८ टोली सहभागी प्रतियोगिता भदौ २० गतेदेखि ३१ गतेसम्म सञ्चालन भइरहेको छ।
- युवा सुन्दर शक्ति र ईलाईट पुरुष क्वार्टरफाइनलमा, सुर्मादेवी महिला सेमिफाइनलमा
- घोडाघोडी महिला सेमिफाइनलमा, संघर्ष पुरुष क्वार्टरफाइनलमा; बिहीबार तीन खेल हुने
- नवबुद्ध र बुलबुलेको शानदार जीत
- महिलातर्फ न्यू कालिका वाकओभरबाट सेमिफाइनलमा, पुरुषतर्फ सुदूरपश्चिम प्रदेश प्रहरी क्वार्टरफाइनलमा
- वनदेवी क्वार्टरफाइनलमा, चारपातेलाई पेनाल्टीमा ३–० ले हरायो