News बेल्जियम र अमेरिका पनि प्रिक्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । बेल्जियम र सह–आयोजक राष्ट्र अमेरिका जारी फिफा विश्वकप २०२६ को प्रिक्वाटरफाइनल (अन्तिम १६) मा प्रवेश गरेका छन् ।

बेल्जियमले सेनेगलमाथि ३–२ को प्रतिस्पर्धात्मक पूनःरागमन जित निकाल्यो । खेलमा सेनेगलले दुई गोलको स्पष्ट अग्रता बनाए पनि त्यो अग्रता जोगाउन सकेन ।

खेलको २५औं मिनटमा मुहम्मदु डायराले सेनेगलका लागि पहिलो गोलको खाता खोलेका थिए । दोस्रो हाफको ५१औं मिनटमा इस्माइला सारले सेनेगलका लागि दोस्रो गोल गर्दै एक समय अफ्रिकी टोलीलाई जिततर्फ अग्रसर गराएका थिए ।

तर, बेल्जियमले खेलमा नाटकीय पूनःरागमन गर्यो । खेलको अन्तिमतिर ८६औं मिनटमा रोमेलु लुकाकुले बेल्जियमका लागि पहिलो गोल फर्काए । त्यसको तीन मिनट लगतै युरी टिलेमनले बेल्जियमका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक २–२ को बराबरीमा ल्याएका थिए ।

निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलियो । अतिरिक्त समयमा बेल्जियमले पेनाल्टीको अवसर पायो । जसलाई टिलेमनले कुनै गल्ती नगरी गोलमा परिणत गरे र बेल्जियमको नाटकीय पूनःरागमन जित पक्का गरे ।

त्यस्तै अर्को खेलमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई २–० को अन्तरले पराजित गर्यो । अमेरिकाको जितमा ४५औं मिनटमा फोलारिन बोलोगुनले पहिलो गोल गरे भने ८२औं मिनटमा मलिक टिलिमानले दोस्रो गोल गर्दै घरेलु टोलीको जित पक्का गरे ।

अब जुलाई ६ तारीखका दिन हुने प्रिक्वाटरफाइनलमा अमेरिका र बेल्जियम आमनेसामने हुनेछन् ।

 

Post Comments