खैरेनी । डियुनिटी क्लब, खैरेनी, देवदह, रुपन्देहीको आयोजनामा बुधबारदेखि डियुनिटी कप यु–२० फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन जनज्योति एफसी र अर्घाचाप एफसीले विजयी शुरुवात गर्दै दोस्रो चरणमा प्रवेश गरे ।
देवदह–५, खैरेनी स्थित पानबारी खेलमैदानमा भएको पहिलो खेलमा जनज्योतिले राईजिङ स्टार एफसीलाई टाईब्रेकरमा २–० ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा जनज्योतिका गोलरक्षक नबिन मसराङ्गी म्यान अफ दि म्याच चुनिए ।
दोस्रो खेलमा अर्घाचापले आयोजक डि युनिटी क्लबलाई २–० ले हरायो । अर्घाचापको जितमा निशान थापाले एक गोल गर्दा अर्को गोल बिशाल बाह्रघरेले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । खेलमा अर्घाचापका निशान थापा म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिताको उद्घाटन भने प्रमुख अतिथी देवदह नगरपालिकाकी उपप्रमुख विद्या लक्ष्मी गुरुङ्ग, आयोजक क्लबका अध्यक्ष सचिन कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । सो अवसरमा खेल संयोजक सिंजाली, सह–संयोजकद्वय सुमन बाह्रघरे, तारा थापा, युवा खेल अभियन्ता प्रकाश बाह्रघरे लगायतको उपस्थिति रहेको थियो ।
आउँदो असार १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने सह–संयोजक तारा थापाले जानकारी दिए । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।