फ्रान्स र पोर्चुगल अन्तिम आठमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दुई पूर्व विजेता टोलीहरु फ्रान्स र पोर्चुगल जारी युइएफए युरो च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएका छन् । यद्यपि क्वाटरफाइनल प्रवेशका लागि दुवै टोलीले कठिन संघर्ष गर्नुपर्यो ।

डुसेलडर्फमा भएको प्रिक्वाटरफाइनलतर्फ फ्रान्सले बेल्जियमलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । खेलको ८५औं मिनटमा बेल्जियमका लागि जान भेर्टोङ्घेनले गरेको आत्मघाती गोल खेलको निर्णायक गोल बन्यो । फ्रान्सका रेन्डल कोलोले प्रहार गरेको बल भेर्टोङ्घेनबाट डिफ्ल्याक्ट हुँदै गोलमा परिणत भएको थियो ।

फ्रान्सले अब ५ जुलाईका दिन हुने दोस्रो क्वाटरफाइनलमा पोर्चुगलको सामना गर्नेछ । पोर्चुगलले सोमबार राती नै भएको अर्को प्रिक्वाटरफाइनलमा स्लोभेनियामाथि टाईब्रेकरमा ३–० को जित निकाल्यो ।

त्यसअघि निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । पोर्चुगलले थपिएको अतिरिक्त समयमै गोल गर्ने सुनौलो अवसर गुमाएको थियो । कप्तान क्रिष्टियानो रोनाल्डोले १०५औं मिनटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा पोर्चुगलले जितका लागि पेनाल्टी शुटआउटसम्म संघर्ष गर्नुपर्यो ।

 

Post Comments