फिफा क्लब विश्वकपः रियललाई निरीह बनाउँदै पिएसजी फाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । प्रभावशाली जितका साथ फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जारी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलतर्फ पिएसजीले पाँचपल्टको विजेता रियल मेड्रिडलाई ४–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

अमेरिकाको न्यु जर्सीमा सम्पन्न खेलमा पिएसजी शुरुवातबाटै हावी देखियो । खेलको छैठौं मिनटमै फाबियन रुइजको गोलबाट पिएसजीले खेलमा अग्रता बनाएको थियो । त्यसको तीन मिनट लगतै उसमान डेम्बेलेले पिएसजीका लागि दोस्रो गोल थपे । पहिलो हाफ मै हावी देखिएको पिएसजीका लागि २४औं मिनटमा फाबियनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

पहिलो हाफसम्म ३–० को अग्रता कायम राखेको पिएसजीले दोस्रो हाफको अन्तिमतिर थप एक गोल थप्यो । खेलको ८७औं मिनटमा गोन्कालो रेमोसले पिएसजीका लागि चौथो गोल गर्दै टोलीको जित प क्का गरे । पिएसजीले अब १३ जुलाईका दिन हुने फाइनलमा इङलिस क्लब चेल्सीसँग उपाधिका लागि भिड्नेछ ।

Post Comments