Province 2 प्रथम भेट्रान फुटबल प्रतियोगिता: बेंगाडावर सेमिफाइनलमा र शुभबिहानी क्वाटरफाइनलमा
गोलनेपाल

महोत्तरी। महोत्तरीको बर्दिवास नगरपालिका–११, खयरमारा स्थित सहिद स्मृति खेल मैदानमा खयरमारा युवा क्लबको आयोजनामा सञ्चालित प्रथम भेट्रान फुटबल प्रतियोगिता २०८३ को तेस्रो दिनका दुई खेल सम्पन्न भएका छन्। तेस्रो दिनको खेलबाट बेंगाडावर भेट्रान सेमिफाइनलमा प्रवेश गर्दा शुभबिहानी भेट्रानले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

प्रतियोगिताको तेस्रो दिनको पहिलो खेल हरिपुर भेट्रान र बेंगाडावर भेट्रानबीच भएको थियो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा बेंगाडावर भेट्रानले ५–३ गोलअन्तरले हरिपुर भेट्रानलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भयो।

उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पेनाल्टीमा एक गोल बचाउन सफल बेंगाडावर भेट्रानका गोलरक्षक लक्की कार्की ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद रु. १ हजारसहित मेडल प्राप्त गरे।

त्यस्तै, दोस्रो खेल हरिवन भेट्रान र शुभबिहानी भेट्रानबीच भएको थियो। खेलको पहिलो हाफको २०औँ मिनेटमा शुभबिहानीका डम्बर रामले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि २२औँ मिनेटमा दुर्गा थापा मगरले गोल गर्दै शुभबिहानीको अग्रता दोब्बर बनाए।

प्रतिस्पर्धात्मक बनेको खेलमा हरिवन भेट्रानका आर्जन गुरुङले ३०औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। तर, निर्धारित खेल समयको ४५औँ मिनेटमा शुभबिहानीका डम्बर रामले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३–१ बनाए।

निर्धारित समयसम्म ३–१ गोलअन्तर कायम राख्दै शुभबिहानी भेट्रानले हरिवन भेट्रानलाई पराजित गर्‍यो। जितसँगै शुभबिहानी भेट्रान प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ।

दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल शुभबिहानी भेट्रानका डम्बर राम ‘म्यान अफ दि म्याच’ घोषित हुदै नगद रु. १ हजार र मेडल बाट पुरस्कृत भए।

प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समेत नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

Post Comments