
सिरहा । गोलबजार फुटबल क्लब, सिरहा तेस्रो सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको दोस्रो दिन सम्पन्न रोमाञ्चक खेलमा उसले सुनसरीको गोल्डेन स्टार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।
खेलको सुरुवातमै गोलबजारले आक्रामक रणनीति अपनाएको थियो। खेल सुरु भएको दोस्रो मिनेटमै निस्चल मोक्तानले डि-बक्स भित्रबाट गरेको गोलले टोलीलाई अग्रता दिलायो। पहिलो हाफमा एक गोलको अग्रता बनाएको गोलबजारले दोस्रो हाफमा पनि आक्रामक खेल जारी राख्यो।
दोस्रो हाफको १८ औं मिनेटमा प्रताब राईले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका राई म्यान अफ द म्याच घोषित भए।
गोल्डेन स्टार युथ क्लबले भने दोस्रो हाफको ३३ औं मिनेटमा सुजन सरदारमार्फत् एकमात्र सान्त्वना गोल फर्कायो। बाँकी समयभर गोलका लागि प्रयास गरे पनि टोली खेलमा फर्कन असफल रह्यो।
यो जितसँगै गोलबजार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ र अब फाइनल प्रवेशका लागि झापाको चर्चित क्लब चत्यासा दमकसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा कोशी प्रदेश डिभिजन लिग च्याम्पियन गाइघाट फुटबल क्लब र आयोजक सलहेश युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेलप्रेमीहरूबीच यो खेल पनि निकै चासोको विषय बन्ने अपेक्षा गरिएको छ।
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो