
थलङ । सिसास खोक्लिङ ताप्लेजुङको मिक्वाखोला ४ थलङमा जारी प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
थलङ खेल मैदानमा मंगलबार सम्पन्न पहिलो क्वाटर फाइनलमा ग्रीन भ्याल्ली क्लब नाल्बुलाई पेनाल्टि सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै सिसास खोक्लिङ प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसके पछि नतिजा पेनाल्टि सुटआउट मार्फत निकालिएको थियो ।
खेलको म्यान अफ दि म्याच खोक्लिङका गोल रक्षक मुकेश लिम्बु घोषित हुँदै एक हजार प्राप्त गरे ।
यस अघि मंगलबारनै सम्पन्न प्रि-क्वाटर फाइनलमा बाघथला युवा क्लब खोक्लिङले वारकदेन युवा क्लब थुकिमालाई ४-० गोलले पराजित गर्दै क्वाटर फाइनलमा स्थान पक्का गरेको छ ।बाघथलाको जितका लागि बसिल प्राङदेनले ह्याट्रिक पुरा गरे भने उमेश लाबुङले एक गोल गरे । खेलको म्यान अफ दि म्याच बसिल घोषित भए ।
प्रतियोगिताको तेस्रो दिन बुधबार क्वाटर फाइनलका बॉकी तीन खेल सन्चालन गरिने खेल तालिका रहेको छ । पहिलो खेलमा मानाभरा युवा क्लब सॉवा र ढुंगे सॉघु बिचको प्रतिस्पर्धा रहनेछ ।
राष्ट्रिय युवा संघ नेपाल मिक्वाखोला गाउँपालिका कमिटिले बैशाख १५ गते देखी आयोजना गरेको प्रतियोगिता बैशाख १९ गते सम्म सन्चालनमा रहने छ ।
१२ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले १ लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ ।प्रत्येक खेलको म्यान अफ दि म्यचले एक एक हजार प्राप्त गर्नेछन ।
प्रतियोगिताको वेस्ट प्लेयर,वेष्ट डिफेन्डर,वेष्ट किपर,हाइ स्कोरर,योङ प्लेयरलाई उचित पुरस्कार प्रदान गरिने बताइएको छ ।