
आठराई । तेह्रथुमको आठराईमा जारी मदन मेला २०८२ को खुल्ला पुरूष र खुल्ला महिला फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
आइतबार सम्पन्न पुरूष तर्फको दोस्रो क्वाटर फाइनलमा पाहिम समाजलाई पेनाल्टि सुट आउटमा ४-३ गोल अन्तरले पराजित गर्दै आठराई गाउँपालिका सेमिफाइनल पुगेको हो । निर्धारित समयको खेल दुइ दुइ गोलको बराबरीमा सकिएको थियो ।
त्यस्तै तेस्रो क्वाटरफाइनलमा मुनाल क्लब जलजलेलाई एकका विरूद्ध तीन गोलले पराजित गर्दै सोधुङ सेन्दाङले सेमिफाईनलमा तमु ह्योल छोजधी आठराईसंग भेट पक्का गरेको हो ।
त्यसैगरी चौथो क्वाटर फाइनलमा गिरी समाज खाम्लालुङलाई सडन डेथमा ६-५ गोलले पराजित गर्दै म्याङलुङ स्पोर्टिङ क्लबले सेमिफाइनलमा आठराई गाउँपालिकासंगको भेट निश्चित गरेको हो । निर्धारित समयमा दुबै टिमले गोल रहित बरीबरी खेलेका थिए ।
महिला तर्फको पहिलो सेमिफाइनलमा फेदाप गाउँपालिका र म्याङलुङ स्पोर्टिङ साथै दोस्रो सेमिफाइनलमा दोखु युवा क्लब ताप्लेजुङ र मुनाल क्लब जलजले भिड्नेछन ।
आज सम्पन्न अन्तिम क्वाटर फाइनलमा लुम्फाबुङ पॉचथरलाई पेनाल्टि सुटआउटमा ४-३ गोल अन्तरले पराजित गरे संगै महिला तर्फको सेमिफाइनल समिकरण पूरा भएको हो । निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भएपछि नतिजा पेनाल्टि मार्फत निकालिएको हो । पुरूष तथा महिला फुटबलका सबै सेमिफाइनल खेलहरू भोली सोमबार हुने खेल तालिका रहेको छ ।
१६ टिम सहभागी रहेको मदन मेमोरियल पुरुष फुटबल प्रतियोगिताको विजेताले २ लाख ५ हजार ५५५ सहित ट्रफि मेडल र प्रमाणपत्र उपविजेताले १ लाख ३० हजार ५५५ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।
६ टिम सहभागि रहेको खुल्ला महिला फुटबलको बिजेताले नगद ८० हजार ५५५ सहित ट्रफि र उपविजेताले ५० हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । मेलामा आठराई गाउँपालिका र मदन धारा समितिको आर्थिक सहयोग रहेको छ ।