News नारायणगढ एफसीलाई दशौं ओसन कपको उपाधि
गोलनेपाल

गोरखा । दि ओसन क्लब, गोरखाद्वारा वार्षिक रुपमा आयोजना हुँदै आएको ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको दशौं संस्करणको उपाधि नारायणगढ फुटबल क्लबले जितेको छ ।

फाइनलमा नारायणगढले नव जनजागृति क्लबलाई ४–१ को अन्तरले हराउँदै विजेता बनेको हो । आयोजक दि ओसन क्लब कै टर्फ मैदानमा भएको उपाधि भिडन्तमा नारायणगढका लागि रिजन घलेले ह्याट्रिक गर्दा थप एक गोल रोमस थापाले गरे । उता पराजित नव जनजागृतिका लागि सैफुला मियाले एक मात्र गोल फर्काएका थिए ।

त्यस्तै महिलातर्फको फाइनलमा एम्बेसडर फुटबल क्लब चितवनले हिल्ली फिल्डर्स गोर्खा एफसी, गोरखालाई २–१ ले हराउँदै उपाधि उचाल्यो । एम्बेसडरका लागि अम्बिका सुनार र पुजा सुनारले गोल गरिन् । पराजित हिल्ली फिल्डर्सका लागि भने जेनिशा खत्रीले गोल फर्काएकी थिईन् ।

पुरुषतर्फको विजेता बनेको नारायणगढले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता नव जनजागृतिले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । नारायणगढ एफसीका सज्जन कार्की प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी चुनिए ।

महिलातर्फको विजेता तथा उपविजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । जि एण्ड ए एकेडेमी प्रतियोगिताको प्लेट च्याम्पियन बन्यो ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगर, गोरखाका सिडिओ पुन्य विक्रम पौडेल, एसपी बासुदेव पाठक लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments