
फिदिम । पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं १० याङ्नाम खलंगाटारमा रहेको इमानसिंग रंगशालामा याङ्नाम फुटबल क्लबको आयोजनामा जारी तेस्रो याङ्नाम गोल्ड कप आइतबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजकलाई घरेलु मैदानमा हराउँदै तिजोक युवा क्लवले फाइनलमा स्थान बनाएको छ।
लगातार दुई पटक फाइनल खेलेको आयोजक याङ्नाम एफ सीको उपाधि यात्रामा पूर्णविराम लगाउँदै तिजोक पहिलो पटक फाइनलमा प्रवेश गरेको हो। तिजोकलाई जीत दिलाउने क्रममा किस्मत लिम्बूले पहिलो हाफको १८ मिनेटमा र दोस्रो हाफको ५७ मिनेटमा गोल गर्दै जीत सुनिश्चित गराएका हुन् ।
खेलको अन्तिम समयमा याङ्नामको लागि कप्तान प्रविन जबेगुले एक गोल फर्काएता पनि आफ्नो टोलीको हार जोगाउन भने असमर्थ भए। उक्त खेलको म्यान अफ दि म्याच तिजोक युवा क्लबका सेन्टर ब्याक वसन्त ओझा बनेका छन् ।
दोस्रो सेमीफाइनल खेल फुङ्बारी एफ सी फाक्तेप र फिदिम स्पोर्टिङ्ग क्लव पाँचथर बीच सोमबार बिहान ११ बजे हुने जानकारी क्लबका अध्यक्ष उपेन्द्र एक्तेनले बताए ।
प्रतियोगिताको विजेताले नगद रु.२०,३,३३३ को साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले नगद रु.१०,३,३३३ को साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ।
प्रतियोगितामा पाँचथर जिल्ला भित्रका कुल आठ टोलीको सहभागिता रहेको थियो भने यस प्रतियोगिताको फाइनल २०८२ साल वैशाख २ गते हुने छ। प्रतियोगिताको सम्पूर्ण खेलहरु गोल नेपालको फेसबुक पेज र युट्युबबाट एकसाथ प्रतक्ष प्रसारण हुने छन्।