
फिदिम । पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं १० याङ्नाम खलंगाटारको इमानसिंग रंगशालामा याङ्नाम फुटबल क्लबको आयोजनामा जारी तेस्रो याङ्नाम गोल्ड कपमा आज शुक्रबार तेस्रो क्वाटरफाईनल खेल सम्पन्न भएको छ।
आज भएको खेलमा आयोजक याङ्नाम एफ सीले न्यू पाथीभरा स्पोर्टिङ्ग क्लबलाई एकपक्षिय जीत ६ शून्य गोलले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो । खेलको २८ औं मिनेटमा अनुप लिम्बूको फ्रि किक गोल मार्फत आयोजकले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा पुकार लिम्बूको गोलमा आयोजकले अग्रता दोब्बर गर्न सफल भएको थियो।
दोश्रो हाफको ५० औं मिनेटमा पुकार लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीको अग्रता तेब्बर गर्दा त्यसको २ मिनेट नबित्दै चोलुङ लिम्बूले गोल गरेसँगै खेल चार शून्यको अवस्थामा पुग्यो। खेलको ७० औं मिनेटमा बेन्चबाट आएका खेलाडि सेनेहाङ लिम्बूले गोल गर्न सफल भए । अन्तिम इन्जुरी समयमा पुकार लिम्बूले गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गर्नुका साथ खेलमा ह्याट्रिक पनि पूरा गरे। ह्याट्रिक पूरा गरेका पवन लिम्बुनै उक्त खेलको नायक बन्दै नगद रू . १००० सगै मेडल प्राप्त गरे।
भोलि अन्तिम क्वाटरफाईनल अन्तर्गत फुङबारी एफ सी फाक्तेप र व्वाइज युनियन पाँचथरबीच दिनको ठीक २:३० बजे खेल सुरु हुनेछ।
प्रतियोगिताको विजेताले नगद रु.२०,३,३३३ को साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले नगद रु.१०,३,३३३ को साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ।
प्रतियोगितामा पाँचथर जिल्ला भित्रका कुल आठ टोलीको सहभागिता रहेको छ भने यस प्रतियोगिताको फाइनल २०८२ साल वैशाख २ गते हुने छ। प्रतियोगिताको सम्पूर्ण खेलहरु गोल नेपालको फेसबुक पेज र युट्युबबाट एकसाथ प्रतक्ष प्रसारण हुने छन्।