
फिदिम । एकतर्फी जितका साथ फिदिम स्र्पोटिङ क्लब, पाँचथर यहाँ जारी तेस्रो योङनाम गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा फिदिमले टु स्टार ग्रामीण सृजनशील क्लब, पाँचथरलाई ३–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
फिदिम नगरपालिका वडा नं १० याङ्नाम खलंगाटारको इमानसिंग रंगशालामा भएको खेलमा फिदिमका लागि नवराज गुरुङ्ग, दिपेश बेघा र आयुष राईले गोल गरे । खेलमा फिदिमका नवराज गुरुङ्ग म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत चैत्र २९ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक याङनाम फुटबल क्लब र न्यु पाथीभरा क्लबबीच हुने आयोजकले जानकारी दियो ।
याङ्नाम फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख २ गतेका दिन हुनेछ ।