भैरहवा । रोमाञ्चक जितका साथ योङ ब्वाईज फुटबल क्लब, देवदह रुपन्देहीमा जारी ३०औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको तेस्रो क्वाटरफाइनलतर्फ योङ ब्वाईजले लिस्नु युवा क्लब, कोटिहवालाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने तेस्रो टोली बनेको हो ।
पक्लिहवा कृषि क्याम्पसमा भएको खेलमा आमोस पुनको गोलबाट लिस्नुले खेलमा अग्रता बनाएको थियो । यद्यपि योङ ब्वाईजका लागि मयन्क मगर र अनिष थापाले गोल गर्दै टोलीललाई रोमाञ्चक जित दिलाए ।
खेलमा योङ ब्वाईजका मयन्क मगर म्यान अफ दि म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र २४ गतेको अन्तिम क्वाटरफाइनल खेल देवदह ब्वाईज एफसी, देवदह र समपुर्ण युवा क्लब, सुपौलीबीच हुने खेल संयोजक दिपक थापा (कुमार) ले जानकारी दिए ।
माछापुच्छ्रे क्लब, सिद्धार्थनगर–२ रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने क्लबका अध्यक्ष युवराज थापाले बताए । फाइनल खेल यही चैत्र २८ गतेका दिन हुनेछ ।