
काठमाडौं । भारतको चर्चित आई लिगमा आज नेपालका तीन रेफ्रीहरु प्रज्वल क्षेत्री, ननिराम थापा र सहदेव श्रेष्ठले एक महत्वपूर्ण खेलमा निर्णायकको भूमिका निभाउँदै छन् ।
अल इण्डिया फुटबल फेडरेशन (एआइएफएफ) ले पठाएको आधिकारिक पत्रमा प्रज्वललाई मुख्य रेफ्री, ननिराम र सहदेवलाई सहायक रेफ्रीको भुमिकामा आमिन्त्रत गरिएको हो ।
लिगमा आज निर्णायक मानिएको खेलमा लिगलिडर चर्चित ब्रदर्श एफसीले गोवाको रैया स्थित पञ्चायत ग्राउण्डमा इन्टर काशीको सामना गर्दैछ । आजको खेल जित्न सके चर्चिल ब्रदर्शले क्लब इतिहास मै तेस्रोपटक र १२ वर्षपछि पहिलोपटक आइ लिगको उपाधि जित्नेछ ।
लिगतालिकामा २० खेलबाट ३८ अंक जोडेको चर्चित ब्रदर्श शिर्ष स्थानमा छ । एक खेल बढी खेल्दै ३६ अंकका साथ लिगतालिकाको दोस्रो स्थानमा रियल काश्मिर रहेको छ भने ३५ अंकका साथ इन्टर काशी तेस्रो स्थानमा छ । आजको खेलमा चर्चिल ब्रदर्श निश्चित जितको खोजीमा हुनेछ भने इन्टर काशीले चर्चित ब्रदर्शलाई रोक्दै लिग होडमा आफ्नो चुनौति कायम राख्न मैदानमा उत्रिनेछ ।