News लहान (निलो) क्वाटरफाइनलमा
गोलनेपाल

लहान । घरेलु टोली लहान फुटबल क्लब, लहान (निलो) जारी तेस्रो लहान मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

बिहीबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ लहान (निलो) ले दुधौली स्पोर्टस क्लब, सिन्धुलीलाई सडन डेथमा हराउँदै क्वाटरफाइनल स्थान पक्का गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ लहान (निलो) का लागि सुनिल कुमार सिंहले गोल गरेका थिए भने दुधौलीका लागि राजेन्द्र मगरले गोल गरेका थिए । बराबरी नतिजापछि खेलको निर्णय टाईब्रेकरबाट लिनुपरेको थियो । टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा लहान (निलो) ६–५ ले विजयी बन्यो ।

खेलमा लहानका गोलरक्षक सन्दिप भट्टराई म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र १५ गते शुक्रबारको क्वाटरफाइनल खेल लहान एफसी (रातो) र बेङखाडी युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।

हिम कस्तुरी युवा क्लब, लहान, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २० गतेका दिन हुनेछ ।

 

Post Comments