
लहान । बेङ्गखाडी युवा क्लब, महोत्तरी जारी तेस्रो लहान मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ बेङ्गखाडीले गाईघाट फुटबल क्लब, उदयपुरलाई टाईब्रेकरमा हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा बेङ्गखाडीले ४–२ ले नतिजा आफ्नो पक्षमा पार्यो ।
निर्धारित समयतर्फ गाईघाटले पाएको पेनाल्टी मिस गर्नु दुर्भाग्यपुर्ण बन्यो ।प्राप्त पेनाल्टीलाई गाईघाटका रवि शंकर चौधरीले सदुपयोग गर्न सकेनन् । उनको पेनाल्टी प्रहार बेङ्गखाडीका गोलरक्षक सुशिल मगरले जोगाएका थिए । टाईब्रेकरमा पनि महत्वपूर्ण दुई पेनाल्टी जोगाएका बेङ्गखाडीका गोलरक्षक सुशिल मगर खेलको म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत चैत्र १४ गते बिहीबारको खेल लहान फुटबल क्लब, लहान (निलो) र दुधौली स्पोर्टस क्लब, सिन्धुलीबीच हुने आयोजकले जानकारी दियो ।
हिम कस्तुरी युवा क्लब, लहान, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २० गतेका दिन हुनेछ ।