
बुटवल । शनिबारदेखि शुरु भएको २३औं तिलोत्तमा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल प्रतिकुल मौसमका कारण स्थगित भएको छ ।
रुपन्देही–११ र एपिएफ बीचको उद्घाटन खेलमा एपिएफले १–० को अग्रता बनाएको अवस्थामा दोस्रो हाफको खेल शुरु भएको केहीबेरै हावाहुरी चलेपछि खेल रोकिएको थियो । निरन्तरको हावाहुरीले थप खेल सुचारु हुन असम्भव देखिएपछि खेल स्थगित गरिएको थियो ।
आयोजकका अनुसार स्थगित भएको बाँकी खेल चैत्र १० गते बिहान ८ बजे बुटवल स्थित एन्फा टेक्निकल सेन्टर मै हुनेछ । त्यस्तै प्रतियोगिता अन्तर्गत आइतबार नै ३ बजेदेखि हुने अर्को खेलमा चर्च ब्वाईज युनाइटेड र नेपाल पुलिस क्लब भिड्ने कार्यक्रम छ ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित १२,१२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६,६६,६६६ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने चैत्र १६ गतेका दिन हुनेछ ।