News कपिलवस्तु–११ लाई सुनगाभा सैनामैना गोल्डकपको उपाधि
सुरज राना मगर

मुर्गिया । झिनो अन्तरको जित निकाल्दै यहाँ सम्पन्न सुनगाभा सैनामैना गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि कपिलवस्तु–११ फुटबल क्लब, कपिलवस्तुले जितेको छ ।

बुधबार भएको फाइनलमा कपिलवस्तुले अभिषेक चर्च फुटबल क्लब, नवलपुरलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि उचाल्न सफल भएको हो । सैनामैना रंगशालामा भएको खेलको ५२औं मिनटमा अफ्रिकी खेलाडी मुहम्मदले गरेको एक मात्र गोल कपिलवस्तुलाई उपाधि जिताउन निर्णायक गोल बन्यो ।

विजेता बनेको कपिलवस्तुले उपाधिसहित नगद ७ लाख हात पार्यो भने उपविजेता अभिषेक चर्चले ४ लाखसहित ट्रफी, मेडलमा चित्त बुझायो । कपिलवस्तुका इटो फाइनल खेलको प्लेयर अफ दि म्याच बने । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारे ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक कपिलवस्तुका नबिन सिलवाल बन्दा उत्कृष्ट डिफेन्डर अभिषेक चर्चका आशिष श्रेष्ठ चुनिए । उत्कृष्ट मिडफिल्डर पनि कपिलवस्तु कै जन्मे धामी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार कपिलवस्तु कै मुहम्मदले प्राप्त गरे । उदीयमान खेलाडी भने आयोजक मुर्गिया एफसीका निशान्त न्यौपाने बने । उत्कृष्ट प्रशिक्षक कपिलवस्तु कै शंकर कार्की बने । उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि कपिलवस्तु कै कप्तान आशिष पुन घोषित भए । उनले त्यसवापत नगद २० हजार र ट्रफी हात पारे । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र शर्मा, उपप्रमुख बिना राना, आयोजक मुर्गिया फुटबल क्लबका अध्यक्ष प्रबिन भारी लगायतले पुरस्कृत गरेका थिए ।

 

Post Comments