News चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

उपाधिको दाबेदार चर्च ब्वाइज युनाइटेड काठमाडौँ फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एक महिनाअघि फिदिम माविको खेल मैदानबाट फाल्गुनन्द गोल्डकपको उपाधि जितेको चर्च ब्वाइजले पाँचथर गोल्डकपमा पनि विजयी सुरुवात गरेको हो । आज भएको दोश्रो क्वाटर फाइनल खेलमा भारतको हिल्स फुटबल एकाडेमी लाई ४-० गोलले पराजित गरेर चर्च ब्वाइजले अन्तिम चारमा स्थान बनायो ।

चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोफोना र अभिषेक महतोले समान १ १ गोल गरेका थिए। खेलमा पाहुना टोली हिल्सले गोलको केही अवसर बनाएको थियो। तर, पाएको मौकालाई सदुपयोग गर्न सकेन। सुरुवाती ६ मिनेटमा राज भुसालले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए। यस्तै, ८औं मिनेटमा फोफोनाले अग्रता दोब्बर बनाएका हुन्। फोफोनाले मध्यभागबाट एक्लै बल अघि बढाएर गोल गरेका थिए । खेलको ६४औँ मिनेटमा अभिषेक महतोले चर्चको लागि तेस्रो गोल गरे । दोश्रो हाफको इन्जुरी समयमा राजले गोल गर्दै चर्च ब्वाइजलाई ४-० को फराकिलो जित दिलाएका हुन् ।

खेलमा २ गोल गरेका चर्चका राज भुसाल प्लेयर अफ दि म्याच हँदै७ हजार ५ सय रुपैयाँ प्राप्त गरे । फिदिम ४ निवासी मन्जु श्रेष्ठ फ्यान अफ दि म्याच भइन् । उनले २ हजार ५ सय रुपैयाँ प्राप्त गरिन् । भाेलि मच्छिन्द्र एफसी काठमाडाैँले चिरपरिचित प्रतिद्वन्द्वी हिमालयन शेर्पा क्लब काठमाडाैँबीच तेस्राे क्वाटरफाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले ११ लाख १ हजार, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments