News प्रथम इनरुवा गोल्डकप शुरु, एपिएफको विजयी शुरुवात
गोलनेपाल

सुनसरी । विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफले शनिबारदेखि शुरु भएको प्रथम इनरुवा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सुनसरी सदरमुकाम इनरुवास्थित जेल फिल्डमा शनिबार सम्पन्न उद्घाटन खेलमा एपीएफले चुलाचुली स्पोर्ट्स क्लब झापालाई ४–१ गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो । एपीएफको जितमा समिर दर्जीले ह्याट्रिक गरे भने दिलसन राईले एक गोल थपे ।

चुलाचुलीका मिक्सो लिम्बुले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । खेलको ‘म्यान अफ दी म्याच’ विजयी टिमका समिर दर्जी भए !

आइतबारको दोस्रो क्वाटरफाइनल खेल विराटनगर सीटी फुटबल क्लब र मनोहरा एकीकृत युवा क्लब काठमाडौंबीच हुने आयोजक इनरुवा फुटबल क्लबका अध्यक्ष अनुप खड्काले जानकारी दिए ।

आउँदो चैत्र ५ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले २ लाख प्राप्त गर्नेछ भने उपविजेताले १ लाख नगद प्राप्त गर्नेछ ।

Post Comments