
बिरगंज । सलहेश युवा क्लब, सिराहा यहाँ जारी दोस्रो बिरगंज गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ सलहेशले संकटा फुटबल क्लब, काठमाडौंलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । आदर्शनगर रंगशालामा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा सलहेशले संकटामाथि ५–४ को जित निकाल्न सफल भयो ।
खेलमा सलहेशका गोलरक्षक बिशाल सुनार म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत फागुन १९ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल साविक विजेता नेपाल पुलिस क्लब, काठमाडौं र बागमती युवा क्लब, सर्लाहीबीच हुने आयोजकले जानकारी दियो ।
भेट्रान सिटी क्लब, बिरगंजको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित मधेश प्रदेश कै सर्वाधिक धनराशी रहेको नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीले एक थान इलेक्ट्रीक स्कुटर हात पार्नेछ भने अन्य विधातर्फका उत्कृष्ट खेलाडीहरुले जनही २०–२० हजार पाउनेछन् । फाइनल खेल यही फागुन २४ गतेका दिन हुने छ।