News सुनगाभा सैनामैना गोल्डकपको तयारी पूरा
सुरज राना मगर

मुर्गिया । सैनामैना नगरपालिका कै गौरव र रुपन्देही कै प्रतिष्ठाका रुपमा हेरिएको प्रथम सुनगाभा सैनामैना गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक मुर्गिया फुटबल क्लब, सैनामैना–४, रुपन्देहीको आयोजनामा यही फागुन १९ देखि २८ गतेसम्म हुन गईरहेको प्रतियोगिताबारे शनिबार पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक रुपमा जानकारी समेत गराइयो ।

आयोजक क्लब कै मुर्गिया फुटबल रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुको सहभागिता रहने खेल संयोजक अशोक खड्काले जानकारी दिए । प्रतियोगितामा आयोजक मुर्गिया एफसीसहित, एपिएफ एफसी काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, महाविर क्लब काठमाडौं, अभिषेक चर्च रजहर, हनामी बिएफसी चितवन, कपिलवस्तु–११, गोर्खा ब्वाईज स्पोर्टस क्लब बुटवल, फर्साटिकर युवा क्लब फर्साटिकर र जोङग्री एफसी सिक्किम (भारत) को सहभागिता रहने संयोजक खड्काले बताए ।

सैनामैना नगरपालिका संरक्षक र विशेष सहयोगी रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । त्यस्तै सुनगाभा पब्लिक स्कुल, सैनामैना मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि ४०–४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए ।

साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न करिब ५७ लाख ४५ हजार खर्च हुने अनुमान गरिएको पनि खेल संयोजक अशोक खड्काले बताए ।

Post Comments