News कपिलवस्तु तिलौराकोट गोल्डकपः विजयी शुरुवातका साथ संकटा सेमिफाइनलमा
गोलनेपाल

कपिलवस्तु । बुधबारदेखि शुरु भएको दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगितामा संकटा फुटबल क्लब, काठमाडौंले विजयी शुरुवात गरेको छ ।

बुद्ध रंगशालामा भएको उद्घाटन खेलमा संकटाले आयोजक कपिलवस्तु–११ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । संकटाको जितमा उत्तम शाहीले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता शाही नै खेलको म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत फागुन १५ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र हिमालयन शेर्पा क्लब, काठमाडौंबीच हुने आयोजकले जनाएको छ । त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए ।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक संघका अध्यक्ष तिलक थापाले बताए । फाइनल खेल यही फागुन २१ गतेका दिन हुनेछ ।

Post Comments