News समिचौर युथ र आयोजक हरमटारी क्वाटरफाइनलमा
गोलनेपाल

गोरखा । समिचौर युथ क्लब र आयोजक हरमटारी क्लब यहाँ जारी नवौं गोर्खाली कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

हरमटारी खेलमैदानमा भएको पहिलो समिचौरले जन सहारा युथ क्लबलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ समिचौरका लागि लक्षु शाहीले गोल गरे भने जन सहाराका लागि कृपा चौधरीले गोल गरेका थिए । टाईब्रेकरमा भने समिचौरले सफलता हात पार्यो ।

दोस्रो खेल पनि टाईब्रेकर मै टुंगो लाग्यो । घरेलु टोली हरमटारीले गण्डकी प्रदेश प्रहरी फुटबल टिमलाई टाईब्रेकरमा ५–४ ले हरायो । निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ हरमटारीका लागि जमिर मास्केले गोल गरे भने गण्डकी प्रदेश प्रहरीका लागि केशर बरमले गोल गरेका थिए । यद्यपि टाईब्रेकरमा हरमटारीसँग गण्डकी प्रदेश प्रहरी निराश बन्यो ।

प्रतियोगिता अन्तर्गत फागुन ११ गते आइतबारको पहिलो क्वाटरफाइनल खेल १ बजे युनिक एफसी, चितवन र चाइनिज धारा फेमिली, गोरखाबीच हुनेछ भने दोस्रो क्वाटरफाइनल खेल ३ बजे लक्ष्मीबजार हर्ट क्लब, गोरखा र सुर्यपुर एफसी, चितवनबीच हुने आयोजकले जानकारी दियो ।

हरमटारी क्लब, गोरखाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार हात पार्नेछ भने फेयर प्ले टिमले नगद ३५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यसबाहेक सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १५–१५ हजार हात पार्नेछन् भने उदियमान खेलाडीले १० हजार प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो । फाइनल खेल यही फागुन १४ गतेका दिन हुनेछ ।

Post Comments