
गोरखा । दुई घरेलु टोली लक्ष्मीबजार हर्ट क्लब, गोरखा र सुर्योदय युथ क्लब, गोरखा जारी नवौं गोर्खाली कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
हरमटारी खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ लक्ष्मीबजारले रिपुमर्दन दल गणलाई ४–० ले सहज अन्तरले हरायो । लक्ष्मीबजारका लागि रिचार्ड विल्सन एक्लैले ह्याट्रिकसहित चार गोल गरे । रिचार्ड नै खेलको म्यान अफ दि म्याच चुनिए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे ।
दोस्रो खेलमा सुर्योदयले सतिपिपल क्लब, गोरखालाई २–० ले पराजित गर्यो । सुर्योदयको जितमा दिपक गुरुङ्ग र संजय श्रेष्ठले गोल गरे । सुर्योदयका गोलकर्ता संजय श्रेष्ठ म्यान अफ दि म्याच पनि बने । उनले पनि नगद २ हजार र ट्रफी प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत फागुन ९ गते शुक्रबारको खेल न्यु दौतरी युथ क्लब, सिरानचोक, गोरखा र दि आरुघाट बगैचा, आरुघाट, गोरखाबीच हुने आयोजकले जानकारी दियो ।
हरमटारी क्लब, गोरखाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार हात पार्नेछ भने फेयर प्ले टिमले नगद ३५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
त्यसबाहेक सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १५–१५ हजार हात पार्नेछन् भने उदियमान खेलाडीले १० हजार प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो । फाइनल खेल यही फागुन १४ गतेका दिन हुनेछ ।