
झुरझुरे । शनिबारदेखि शुरु भएको सातौं बागमती गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा बागमती युवा क्लब, सर्लाहीले विजयी शुरुवात गरेको छ ।
शहिद स्मृति रंगशालामा भएको उद्घाटन खेलमा बागमती युवा क्लबले आयोजक तथा घरेलु टोली बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरलाई १–० ले हरायो ।
बागमती युवा क्लबको जितमा बिमल घिसिङले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता घिसिङ नै खेलको म्यान अफ दि म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।
यो जितसँगै बागमती युवा क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन ४ गते आइतबारको खेल हनामी बिएफसी, चितवन र एपिएफ फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ ले गरेका थिए । बागमती गाउँपालिका खेलकुद विकास समिति, झुरझुरे, मकवानपुरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन १२ गतेका दिन हुनेछ ।