News आयोजक बिराट भेट्रान (बी) पनि सेमिफाइनलमा
गोलनेपाल

सुन्दरहरैचा । आयोजक बिराट भेट्रान (बी) पनि जारी चौथो बिराट भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा बिराट भेट्रान (बी) ले जि.जे. युनाइटेड भेट्रान, दार्जिलिङ, भारतलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

सुकुना माविको खेलमैदानमा भएको खेलमा बिराट भेट्रान (बी) का लागि इन्द्र राईले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता राई नै खेलको म्यान अफ दि म्याच समेत चुनिए ।

बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । माघ २५ गते शुक्रबार हुने पहिलो सेमिफाइनलमा आयोजक बिराट भेट्रान (ए) र दुधे भेट्रान, झापा भिड्ने छन् भने सोही दिन हुने दोस्रो सेमिफाइनल खेलमा बिराट भेट्रान (बी) र पूर्वेली भेट्रान, झापाबीच हुने आयोजकले जानकारी दियो ।

बिराट भेट्रान क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २६ गतेका दिन हुनेछ ।

 

Post Comments